डा. डीला संग्रौला (पन्त) को जीवन परिचय
राप्ती अञ्चल दाङ जिल्लाको घोराही नगरपालिकाको टेरौटे भन्ने स्थानमा एउटा मध्यम वर्गीय परिवारमा जन्म लिई आफ्नो जीवन यात्रा प्रारम्भ गर्दै अनेकौं अप्ठ्यारा एवम् असजिला क्षणहरुलाई छिचोल्दै, पार गर्दै अविचलित रुपमा लागेको फलस्वरुप नै डा. डीला संग्रौला (पन्त) आजको यस अवस्थामा आइपुगेको कुरा स्मरणीय छ ।
पश्चिम नेपालको दाङमा जन्मी, हुर्की, आफ्नो बाल्यकाल र प्रारम्भिक पठनपाठन गर्दै उच्च शिक्षाको खुड्किलो चढ्दै गर्दा वैवाहिक बन्धनमा बाँधिई घरव्यवहार, सन्तानको लालन–पालन, शिक्षा दिक्षा, आफ्नो पढाई र राजनीति समेतलाई एकै साथ अगाडि बढाउनु कम चुनौतिपूर्ण अवस्था थिएन एक सामान्य मध्यम वर्गीय एकल परिवारको लागि ।
विवाह पश्चात् आफ्नो कर्मभूमि विराटनगरलाई बनाई नेपाली कांग्रेसको राजनीतिमा होमिदै गर्दा अनेकौं तगराहरुले छेक्ने प्रयत्न गर्दा पनि इमान्दार साथ लागी पर्ने हो भने ढिलो चाँडो गन्तव्यमा पुग्न सकिन्छ भन्ने पाठ सर्वसाधारण वर्गमा यसले छाप छोडेको नै देखाएको छ । राजनीति चिताएजस्तो सरल हुँदो रहेनछ । यसमा अनेकौं तत्वहरुले प्रभाव पार्ने रहेछन्, जसले गर्दा कार्यकर्ताको सही समयमा सही मूल्यांकन नभई नतिजा प्रतिकुल पनि हुन सक्दो रहेछ । तर, परिस्थितिलाई बुझी दृढ इच्छासाथ लागिपरेमा समयले काम गर्ने मान्छेको मूल्यांकन गराउँदो रहेछ । राजनीतिको क्षेत्रमा तल्लो वार्ड स्तरदेखि आफूलाई कर्मयोगी बनाउँदै क्षेत्र, जिल्ला हुँदै केन्द्रीय तहमा पुगी देश र जनताको हितमा आवाज बुलन्द गर्दै जनता र मुलुकलाई न्याय दिलाउनु कुनै पनि नेता तथा कार्यकर्ताको मूल कर्तव्य पनि हो । यसै सेरोफेरोमा रही डा. डीला संग्रौला (पन्त) को जीवन परिचयलाई प्रस्तुत गरिएको छ ।
२०२० साल जेष्ठ १२ गते (तदनुरुप २६ मे १९६३) मा डा. डीला संग्रौला (पन्त) को जन्म दाङ घोराहीको टेरौटे (जहाँ प्रायः सबै थारु वस्ती छ) भन्ने गाउँमा भएको हो । उनको आमाको नाम विद्यावती पन्त र बुवाको नाम टिकादत्त पन्त हो । उहाँहरु दुवै विद्यालयमा पढाउनुहुन्थ्यो । छोराछारीको संख्या बढेपछि घर व्यवहार र बालबच्चाको स्याहारसुहार गर्न आमा विद्यावती पन्तले विद्यालय छोड्नुभयो । ८ वटी छोरीहरु र २ दाजुभाइ गरी १० सन्तान मध्ये डीला माइली छोरीमा पर्दछिन् । विष्णु, डीला, भगवती, दुर्गा, वसन्ती, पुष्पा, जानकी, नारायणी नामका ८ वटी छोरीहरु र युवराज र कुमुद दुई दाजुभाइ गरी १२ जनाको परिवारलाई व्यवस्थित गर्न एक साधारण शिक्षकको लागि कति कठिन थियो होला, सहजै अनुमान गर्न सकिन्छ ।
डा. डीलाको एस.एल.सी. सम्मको पठनपाठन घोराहीमै रहेको रझेना निमावि (हाल माध्यमिक) र पद्मोदय पब्लिक व्यवसायिक माध्यमिक विद्यालय भरतपुरमाा भएको हो । बुवा–आमा स्वयम् शिक्षक शिक्षिका भएकाले अध्ययनमा कुनै असहज महशुस भएन । लगातार अध्ययन गर्दै जाँदा २०३७ सालको एस.एल.सी. परीक्षामा पद्मोदय पब्लिक व्यवसायिक माध्यमिक विद्यालयबाट सरिक भई दोस्रो श्रेणीमा उत्तीर्ण गरिन् । विद्यालय जीवनकालमा अध्ययनको अलावा जिल्ला, क्षेत्रीय र राष्ट्रिय स्तरमा समेत सांस्कृतिक कार्यक्रमहरुको प्रतियोगितामा भाग लिई सर्वप्रथम हुने अवसर पनि उनलाई प्राप्त भयो ।
माध्यमिक तहको विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसका क्रियाकलाप र गतिविधिहरुलाई डा. डीलाले नियाल्ने अवसर प्राप्त गरिन् । स्कूल पढ्दा साथीहरुदेखि घरमा पनि उनका बुवा स्व. टिकादत्त पन्त, आमा विद्यावती पन्त र दाजु युवराज पन्त नेपाली कांग्रेसको आदर्श र सिद्धान्तप्रति आकर्षित हुनुहुन्थ्यो । जसले गर्दा डीलालाई बाल्यकालदेखि नै कांग्रेसको आदर्श र सिद्धान्तले प्रभावित गर्दै लग्यो । २०३६ सालको जनमत संग्रहमा उनी ९ कक्षाको विद्यार्थी थिइन् । नेपाल विद्यार्थी संघको तर्फबाट विशेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, शैलजा आचार्य लगायतका नेताहरुलाई भरतपुर दाङको बहुदलको आमसभामा आउँदा डीलालगायत नेविसंघका अन्य साथीहरुको तर्फबाट भव्य स्वागत गरिएको थियो ।
नेताहरुले बहुदलको पक्षमा जनतालाई गरेको आह्वान अनुसार नै पन्त परिवार सबै बहुदलको पक्षमा होमिन पुगे । त्यसपछि स्थानीय नेताहरुसँग सम्पर्क बढ्दै गयो । जब डीला प्रवेशिका परीक्षाको खुड्किलो पार गरी महेन्द्र बहुमुखी क्याम्पस दाङमा अध्ययन सुरु गरिन्, नेविसंघको तर्फबाट उम्मेदवार नै स्वतन्त्र विद्यार्थी युनियनको कार्य समितिमा समेत निर्वाचित हुन पुगिन् । कम्युनिष्टहरुको उत्ताउलो र विदेशी नेता परस्त नीति र कार्यक्रम भएकाले उनलाई तिनीहरुले प्रभाव पार्न सकेन र वीपी कोइराला, सुवर्ण सम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, जवारलाल नेहरु, जयप्रकाश नारायण, राममनोहर लोहिया, महात्मागान्धीका विचाराहरु पढ्ने, सुन्ने र उनीहरुका सम्बन्धमा बुझ्ने मौका डा. डीलाले प्राप्त गरिन् । उनको आफ्नै गृह जिल्ला दाङमा पनि खुमबहादुर खड्का, चैतु चौधरी, बलदेव मजगैया आदि नेतृत्वका व्यक्तित्वबाट उनी प्रभावित हुन पुगिन् । क्याम्पस जीवनदेखि नै उनले नेविसंघमा सक्रिय रुपले जिम्मेवारी बहन गर्ने अवसर प्राप्त गरिसकेको हुँदा स्थानीय नेपाली कांग्रेसका नेताहरुसँग सम्पर्क बढ्दै गयो, जसले गर्दा नेपाली कांग्रेसको आदर्श र सिद्धान्तलाई नजिकबाट बुझ्न अझ सहज बनायो । यसरी भर्खर क्याम्पस टेकेर अध्ययनको अलावा नेपाली कांग्रेसको राजनीतिको सामान्य ज्ञान प्राप्त गर्दै गर्दा डा. डीलाको जीवनमा एउटा अर्को मोड आयो त्यो थियो विवाह बन्धनमा बाँधिई नयाँ जीवनको सूत्रपात गर्ने र अगाडि बढ्ने ।
जब डा. डीला उच्च शिक्षाको खुड्किलो चढ्दै महेन्द्र बहुमुखी क्याम्पस दाङमा आई.ए. तहमा अध्ययनरत हुँदै गर्दा २०४० साल मंसिर १ गतेका दिन उनको विवाह मोरङवासी प्रा.डा. सूर्यप्रसाद संग्रौलासँग हुन पुग्यो । माइतीमा जस्तै घरपरिवार तर्फ पनि ५ जना दाजुभाइ र ३ दिदी बहिनी भएको परिवारमा उनको वैवाहिक सम्बन्ध स्थापित हुन पुग्यो । बुवाको नाम कृष्णप्रसाद र आमाको नाम लक्ष्मीमाया हुनुको साथै पुन्यप्रसाद, अर्जुनकुमार, सूर्यप्रसाद, चुडामणि र खगेन्द्र गरी पाँच दाजु भाइ र गंगा, जमुना र राजकुमारी दिदी बहिनी मध्ये जीवनसाथीको रुपमा छोरो साहिँलो सूर्यप्रसाद संग्रौलालाई नै भाग्यले जुराएको रहेछ । डा. डीलाका दाजु युवराज पन्त र प्रा.डा. सूर्यप्रसाद संग्रौला त्रि.वि. कीर्तिपुर पढ्दाका मिल्ने साथी रहेछन् । दुवै जनाले २०३५ सालमा स्नातकोत्तर तहमा प्रवेश गरी २०३८ सालमा युवराजले अंग्रेजी र सूर्यप्रसादले अर्थशास्त्रमा अध्ययन पूरा गरेका थिए । २०३६ सालको जनमतसंग्रहमा सक्रिय भूमिका निर्वाह गरेका प्रा.डा. सूर्यप्रसाद संग्रौलाले सौंठा मा.वि. मोरङमा निर्लदीय पञ्चायती व्यवस्थाका समर्थकले झन्नै ज्यान लिएका थिए । आफ्नो अध्ययन पश्चात प्रा.डा. सूर्यप्रसाद संग्रौला कामको शिलशिलामा दाङ आउँदा साथी युवराजमार्फत् डा. डीलासँग चिनजान हुन पुग्यो । त्यही चिनजान र सम्पर्कले अन्तत्वोगत्वा घरपरिवार र सबैसँगको आपसी सहमतिमै नेपालगञ्जको बागेश्वर मन्दिरमा हिन्दू संस्कार अनुरुप विवाहबन्धनमा बाँधिन पुगेका हुन् । विवाह पश्चात् डा. डीलालाई संयुक्त परिवारमा बस्ने अवसर भने जुरेन । किनकि जीवनसाथी डोटीमा प्राध्यापन गर्ने र आफू दाङकै महेन्द्र बहुमुखी क्याम्पसको अध्ययनलाई निरन्तरता दिई सफलता प्राप्त गर्न कटिबद्ध भै लागेको हुँदा अन्य कुनै कुरालाई डा. डीलाले सोचेको देखिदैन । फलस्वरुप डा. डीलाले २०४० सालमै आई.ए. तहको अध्ययनलाई समेत पूर्णता दिइन् ।
आई.ए. तहको अध्ययन पश्चात् डा. डीला डोटीको सिलगढीमा केही महिना जीवनसाथी डा. सूर्यप्रसादसँग सँगै रही दुर्गम एवम् पहाडी जिल्लाहरुको कष्टदायी जनजीवन शैक्षिक, धार्मिक, सांस्कृतिक, परम्परा र रीतिरिवाजको अलावा तत्कालीन राजनीतिक व्यवस्थाले सृजित विविध समस्याहरुलाई समेत नजिकबाट नियाँल्ने अवसर समेत प्राप्त गरिन् । यसले जीवनमा थप प्रेरणा र बल पुगेको महशुस उनले अभिव्यक्त गरेकी छिन् ।
वैवाहिक जीवनको २ वर्षपछि २०४२ साल भदौ १२ गतेका दिन प्रथम सन्तानको रुपमा छोरी सुसनलाई जन्म दिई डीला आमा बन्न पुगिन् । अब झन् थप व्यवहार र चुनौतिहरु थपिदै गए । अध्ययनलाई कसरी अगाडि बढाउने, सन्तानलाई स्याहारसुसार गरी योग्य नागरिक बनाउनुको साथै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो जीवनकालमा कसरी व्यवहारमा परिणत गर्ने भन्ने कुराले डा. डीलालाई पिरोलिइ नै रह्यो ।
त्रिविले जीवनसाथी प्रा.डा. सूर्यप्रसाद संग्रौलालाई २०४२ साल मंसिरमा डोटी क्याम्पसबाट महेन्द्र बहुमुखी क्याम्पस धरानमा सरुवा गरेपश्चात् डा. डीलाले आफ्नो जन्मभूमि दाङलाई छोडेर कर्मभूमि पछ्याउँदै स–परिवार धरानमा आइपुगेको स्मरण गराउँदछिन् । नाबालक शिशुको स्यहारसुसार एवम् आफ्नो पढाइलाई पनि निरन्तरता दिन र डेरा भाडा गरी जीवन यापन गर्दै एक सहायक प्राध्यापकको सीमित पारिश्रमिकले व्वहार धान्नुपर्ने कुरा कम चुनौतिपूर्ण थिएन, नवदम्पत्ति परिवारको लागि । अध्ययनको शिलशिलामा डेरा लिएर बसेका विद्यार्थीहरुसँग पनि मिलीजुली सँगै खाना पकाउने, समयको चाँजोपाँचो मिलाई दुवै जोडी पढ्ने पढाउने, सन्तानको स्यहारसुसार गरी अगाडि बढ्न पयत्न गरेको फलस्वरुप नै २०४४ सालमा स्नातक तहको अध्ययन पूरा गर्न उनी सफल भएकी हुन् । विवाह पश्चात् कमै महिलाले यस्तो पढ्ने अवसर प्राप्त गर्दछन् ।
समयको क्रमसँगै २०४४ सालमा त्रि.वि. रजिष्ट्रार कार्यालयले जीवनसाथी प्रा.डा. सूर्यप्रसाद संग्रौलालाई महेन्द्र बहुमुखी क्याम्पस धरानबाट महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा सरुवा भए पश्चात् भने अध्ययन अध्यापन अनुसन्धान लगायत राजनीतिको क्षेत्रलाई समेत निरन्तरता दिन बाटो खुल्न गएको हो ।
सुरुका दिनहरुमा डा. डीला संगौलाको परिवार जब विराटनगरमा प्रवेश गरी आफ्नो जीवन यात्रा व्यतित् गर्नुप¥यो, त्यो त्यति सहज र सरल भने अवश्य रहेन । नौलो ठाउँ, आफ्नै घर नहुनु, सीमित आम्दानीको भरमा घर व्यवहार धान्नु पर्ने बाध्यता उनीहरुलाई थियो । छोरीको स्याहार सुसारमा संलग्न हुनुपर्दा अन्य धेरै कार्यमा संलग्न हुने अवस्था थिएन उनीहरुका लागि । श्रीमान्को खेती मोरङकै सौंठा सिजुवामा भएकाले बेलाबखत भरथेक भने हुने नै गर्दथ्यो । मूल कुरा के थियो भने आफ्नो अध्ययनलाई कसरी अगाडि बढाउने भन्ने कुराले डा. डीलालाई पिरोलिई रहेको थियो । स्नातक तहमा मूल विषयहरुमा अंग्रेजी र संस्कृति भएकाले यिनै २ विषय मध्ये एक विषयमा एम.ए. तह पढ्नुपर्ने बाध्यता थियो उनलाई । तर, यी दुवै विषयको पढाई विराटनगरमा त्यसताका थिएन । यस्तै परिस्थितिमा गुज्रदै गर्दा २०४५ साल जेष्ठ ८ गते डा. डीलाले दोस्रो सन्तानलाई जन्म दिई आमा बन्न पुगिन् । अब जेठी छोरी सुसन र कान्छी छोरी सुष्मिताको स्याहारसुसार रेखदेखले एकल संग्रौला परिवारलाई केही समयसम्म अध्ययन गर्ने मौकालाई तगारो हाली दियो ।
२०४६ सालको जनआन्दोलनमा छोरीहरुलाई स्याहार्दै श्रीमान् श्रीमती आलोपालो गरी विराटनगरमा भएको आमसभा र ¥यालीहरुमा सक्रिय रुपले सहभागी भएको कुरा डा. डीला बताउँछिन् । त्यसैताका १३ धुर घडेरी किनी २ कोठाको घर सम्पन्न गरी आफ्नै घरमा बस्न गएको प्रसंग कुराकानीको क्रममा जानकारी प्राप्त गरिएको हो । पढ्ने अवसर समयले नजुराएको र मन पिरोलिइरहेको अवस्थाको सन्दर्भमा प्राइभेट परीक्षार्थीको रुपमा त्रि.वि.बाट संस्कृति विषयमा एम.ए. अध्ययन गर्ने अठोटको साथ २०४७ बाट डा. डीला अग्रसर हुनुभयो । यसको लागि आवश्यक सम्पूर्ण सामग्रीको बन्दोवस्त प्रा.डा. सूर्यप्रसाद संग्रौलाले गरिदिनुभयो ।
घरव्यवहार सम्हाल्दै २०४७ सालबाट एम.ए. संस्कृति विषय प्राइभेट परीक्षार्थीको रुपमा पढ्न शुरु गरेकी डा. डीला संग्रौला अन्तत्वोगत्वा २०४४ सालको आठौं महाधिवेशनमा उनको विगत इतिहास र २०४६ सालको जनआन्दोलनमा देखाएको सक्रियतालाई हेरी नेपाली कांग्रेस विराटनगर–११ (तत्कालीन विराटनगर–१५) ले उनलाई क्रियाशील सदस्यता दिई सोही वार्डको महिला संघको सभापतिको जिम्मेवारी समेत सुम्पियो । डेढ वर्षकी छोरीलाई छोडी राजनीतिमा दौडिएको क्षण अविस्मरणीय ठान्दछिन् डा. डीला संग्रौला । बिहान बेलुका घरव्यवहार र छोरीहरुको रेखदेख, स्यहारसुसार र आफ्नो अध्ययन गर्ने र दिउँसो समय निकालेर महिला संघका गतिविधिहरुलाई क्रियाशील गराउने कार्यले तत्कालीन महिला विभाग प्रमुख नोना कोइराला समेत प्रभावित भै सम्मान गरेको कुरा आज पनि उत्तिकै सान्दर्भिक छ ।
महिला संघमा राम्रो काम गरेको र पढे लेखेको महिला भएकै कारणले होला डा. डीलालाई तत्कालीन विराटनगर–१५ र हाल वडा नं. ११ को नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी पनि दिइयो । डा. डीलाले सो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै विराटनगरको एक नमूना वार्डको रुपमा समेत प्रस्तुत गर्न सफल हुनुभयो । विराटनगर वडा नंं ११ (तत्कालीन वडा नं. १५) मा डा. डीला संगौला (पन्त) ले महिला संघ सभापति र ने.का. वार्ड समितिको सभापति कुशलता साथ आफ्नो जिम्मेवारी बहन गरेकै फलस्वरुप ने.का. नगर समिति सदस्य र महिला संघ जिल्ला सदस्यको अतिरिक्त ने.का. जिल्ला सदस्य समेत पार्टीले जिम्मेवारी दिएको कुरा स्मरणीय छ । संग्रौला राजनीतिमा मात्र सक्रिय भइनन् बिहान, बेलुका अनवरत अध्ययन गर्दै २०४९ सालमा एम.ए. तहको संस्कृति विषयको पढाई पनि पूर्ण गरिन् ।
एम.ए. डिग्री पास भए पश्चात् डा. डीला राजनीति र घर व्यवहारमा मात्र सीमित नरहेर प्राध्यापन पेशातर्फ आफूलाई सरिक गराइन् । २०५१ सालदेखि तत्कालीन कन्या क्याम्पस विराटनगरबाट आंशिक रुपमा प्राध्यापक पेशा शुरु गर्दै अन्तत्वोगत्वा मोरङ कलेजमा स्थायी उपप्राध्यापक भै स्नातकोत्तर क्याम्पसमा समेत प्राध्यापन गर्न सफल भइन् ।
२०५३ सालमा भएको नेपाली कांग्रेसको नवौं महाधिवेशनदेखि डा. डीला संग्रौला अनवरत रुपमा मोरङ क्षेत्र नं. ६ तत्कालीन क्षेत्र नं. ७ बाट महाधिवेशन, महासमिति सदस्य हुँदै केन्द्रीय सदस्यको रुपमा रही नै रहनुभएको छ ।
२०४८ देखि २०६४ को संविधानसभाको निर्वाचनसम्म आइपुग्दा डा. डीलाको सक्रियता अध्ययन, अध्यापन, राजनीति र घरव्यवहारलाई समानान्तर किसिमले एकअर्कामा समन्वय गरी अगाडि बढाएको देखिन्छ ।
डा. डीलाले प्राध्यापनको शिलशिलामा एक दर्जनभन्दा बढी अनुसन्धान र दर्जनौ लेख रचनाहरु समेत प्रकाशित गरिसक्नुभएको छ । महेन्द्र मोरङ क्याम्पसको प्राध्यापनमा संलग्न हुँदा प्राध्यापकहरुको हकहितको संरक्षण र प्राज्ञिक तथा शैक्षिक मर्यादाका लागि नेपाल प्राध्यापक संघका विभिन्न पदमा रही २०५४ देखि २०५८ सालसम्म कार्य गर्ने सौभाग्य पनि उनलाई प्राप्त भयो ।
यसको अलावा हेल्पग्रुप, सेभमदरहुड, एबीसी नेपाल, रेडक्रस सोसाइटी जस्ता संस्थाहरुसँग पनि उनी संलग्न रहेको देखिन्छ । चेलीबेटी बेचविखन एवम् गरिब, असाहय, निमुखा, दलित, अल्पसंख्यक, जातजाति र अनाथ बालबालिकाको सहयोगको क्षेत्रमा राम्रो काम गरेको भन्दै बालबालिका र समाज कल्याण परिषदले समेत सम्मानपत्र दिन पछि परेन डा. डीला संग्रौला (पन्त) लाई ।
यसैगरी नेपाली कांग्रेसले सञ्चालन गरेको विभिन्न तालिम, प्रशिक्षण, गोष्ठी, सेमिनार, अन्तरक्रिया र छलफल कार्यक्रममा विशेषज्ञको रुपमा सहभागी भै आफ्नो बौद्धिकतालाई समाज रुपान्तरणको पक्षमा लगाइरहनु भएको छ भने अन्य सामाजिक संघ–संस्थाहरुमा समेत सहभागी भै आफ्नो ज्ञान र सीपलाई जनताको हितमा जतिसक्दो प्रवाहीकरण गर्न पनि उहाँ चुक्नुभएको छैन ।
१२ वर्षसम्म प्राध्यापन पेशामा संलग्न भै राजनीति र विश्वविद्यालयको सेवामा दुवैलाई समानान्तर किसिमले लगिरहेको अवस्थामा डा. डीलाको जीवनमा एउटा यस्तो मोड आयो, जसमा प्राध्यापनमै बसिरहने कि ? राजनीतिमा पूर्णकालीन भै काम गर्ने ? त्यो थियो उनलाई २०६४ सालको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारको घोषणा । साथीभाइ, छरछिमेक, प्राध्यापक एवम् तत्कालीन त्रि.वि.का उपकुलपतिज्यू समेतले राजनीति कठिन छ, विश्वास गर्न सकिन्न, धोका हुन सक्दछ, घरपरिवार, नाबालक छोरीहरुको पठनपाठन, विवाह आदिको व्यवस्था गर्नुपर्ने, स्थायी जागिर छोड्नु पर्ने, मध्यमवर्गीय परिवारको लागि यो कठिन घडी हो, त्यसैले विश्वविद्यालयको स्थायी सेवा नछोड्ने सुझाव र सल्लाह दिएका थिए । ३३% महिलाको उपस्थिति संविधान सभामा भै संविधान लेख्ने सुवर्ण अवसर महिलालाई प्राप्त भएको थियो । यस्तो परिस्थितिमा तत्कालीन पार्टी सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाज्यू समक्ष सोधनी गर्दा तिमी जस्तो पढे लेखेको मान्छेले संविधान लेख्न नपाए कस्ले पाउने ? आजै राजीनामा पठाउ भन्ने सल्लाह अनुसार नै डा. डीलाले विश्वविद्यालयको सेवाबाट राजीनामा गरी संविधान सभाको निर्वाचनमा उम्मेदवार भै होमिन पुगिन् । २०६४ को संविधान सभाको आम निर्वाचनमा पार्टीलाई जिताउन दर्जनौं आमसभा, ¥याली, कोणसभा, भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रियतापूर्वक सहभागी भै कांग्रेसको पक्षमा माहौल बनाउन प्रयत्न गरेको आम कांग्रेसीजनमा आजसम्म पनि ताजै छ ।
अन्ततोगत्वा २०६४ को संविधान सभाको निर्वाचन सम्पन्न भयो । नेपाली कांग्रेसले डा. डीलालाई संविधान सभाको सदस्य पदमा निर्वाचित गराउन असमर्थ भयो । पार्टीमा आन्तरिक भागवण्डा भयो । नेताहरुले आ–आफ्नो मान्छेहरुलाई संविधान सभाको सदस्य बनाउन पुगे । विश्वविद्यालयको स्थायी सेवा (जागिर) पनि गुम्यो र संविधान सभा सदस्य पनि पार्टीले बनाउन सकेन । त्यो क्षण डा. डीलाको लागि अत्यन्त पीडादायिक र पार्टीले आफूलाई धोका दिएको महशुस गर्दछिन् । पार्टीले दिएको आश्वासन पूरा नहुनु र माध्यमवर्गीय परिवारको हुँदाखाँदाको विश्वविद्यालयको जागिर गुमी त्यसबाट श्रृजित समस्याले डा. डिलालाई केही दिनसम्म निरास र हतोत्साही नबनाएको होइन । तर, यस घटनाले डीलालाई जीवनमा थप उर्जा र प्रेरणा पनि प्रदान ग¥यो । घरपरिवार, छरछिमेकी, कर्तव्यनिष्ठ कार्यकर्ता तथा नेताहरुको सुझाव, सल्लाह र सद्भावले केही क्षण निरासमा देखिएकी डा. डीला केही गरौं र मरौं भन्ने भावनालाई आत्मसात गरी जिल्लास्तरीय पार्टीको कार्यक्रमलाई निरन्तरता दिँदै आफूलाई अझ सक्षम र योग्य बनाउन पीएच.डी. उपाधी लिनका लागि अग्रसर भै २०६५ सालमा त्रि.वि.मा रजिष्ट्रेशन गर्न पुगिन् । त्यसै समयमा कार्यकर्ता साथीहरुको दबाव र नेताहरुको समेत सहमतिमा डा. डीलालाई नेपाली कांग्रेस मोरङको जिल्ला उपसभापति पदको जिम्मेवारी दिइयो । पार्टीको काम गर्दै डा. डीला विद्यावारिधिको लागि कम्मर कसेर लागिन् ।
डा. डीलाको विद्यावारिधिको विषयवस्तुलाई त्रि.वि.का डा. विणा पौडेल र स्नातकोत्तर क्याम्पसका डा. सोमप्रसाद खतिवडाको प्रत्यक्ष निर्देशन र निगरानीमा भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाटै करिब ३ वर्षमा नै नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयको “विराटनगरका वैष्णव सम्प्रदायहरु” भन्ने शीर्षकमा २०६८ साल शुरुवातमा नै पीएच.डी. उपाधी लिन सफल भइन् । जसले गर्दा पार्टीमा डा. डीलालाई नेतृत्वले हेर्ने नजरमा केही फरक पर्न गयो ।
त्यस समयसम्ममा जेठी छोरी सुसनको विवाह जनकपुर निवासी मञ्जित घिमिरेसँग सम्पन्न भै उनीहरु अध्ययनको शिलशिलामा बेलायत गइसकेका थिए । छोरी ज्वाइँको निमन्त्रणामा द्वय डा. डीला र सूर्यप्रसाद करिब ४ महिना बेलायत भ्रमणको लागि प्रस्थान गरे ।
बेलायत भ्रमणको शिलशिलामा बेलायतमा रहनुहुने नेपाली दाजुभाइ दिदी बहिनीहरुले गरेको माया, ममता संग्रौला परिवारको लागि अविस्मरणीय रह्यो । छोरी ज्वाइँको साथै डा. डीलाकी जन्म दिने आमा, बहिनी जानु, भाइ कुमुद समेत त्यही बसोबास गर्ने भएकाले समय बितेको पत्तै भएन ।
डा. डीलाको अधिकांश समय नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा खर्च हुन्थ्यो । बेलायतमा रहने विद्वान् साथीहरुको सम्पर्कले डा. डीलालाई थप प्रेरणा र हिम्मत प्रदान ग¥यो । सोही समयमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा उक्त कार्यक्रममा डा. डीलाको सम्बन्धमा अन्याय भएको कुरा सहभागी मित्रहरुले उठाएका थिए । यसको लागि सुशील दाइलाई अनुरोध पनि गरे । बेलायत भ्रमणबाट फर्कनै लाग्दा डा. डीलालाई केही अस्वस्थ भएपश्चात् नेपालमै आई उपचार गरियो ।
२०६४ सालमा संविधान सभा सदस्य भै संविधान लेख्ने अवसरबाट बञ्चित भएपनि डा. डीलाको लागि उपयुक्त पदमा नियुक्त गरी जिम्मेवारी दिने कुरामा पार्टी संगठनभित्र कुरा चल्न थालिसकेको थियो । त्यसताका नेपाल महिला संघको केन्द्रीय समिति नेतृत्वबिहीन अवस्थामा रहेको र केन्द्रका गुटगत राजनीतिले कुनै पनि महिला नेतृत्वलाई सबैले स्वीकार गर्ने अवस्था नभएको अवस्थामा संघलाई चलायमान बनाउन सक्ने, पढेलेखेको र समयमा नै अधिवेशन सम्पन्न गर्न सक्ने, विवादमा नमुछिएको महिला नेतृत्वको खोजी भैरहेको थियो । डा. मीनेन्द्र रिजाल, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, खुमबहादुर खड्का आदि नेताहरुले डा. डीलालाई पार्टीले अन्याय गरेको हुँदा उपयुक्त ठाउँमा नेतृत्व दिनुपर्ने कुरामा विश्वस्त थिए र उहाँहरुले नै शेरबहादुर देउवा र सुशील कोइरालालाई सहमतिमा ल्याई नेपाली कांग्रेस पार्टीले २०६८ साल माघ २१ गते नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिको अध्यक्ष पदमा नियुक्ति गरी तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पनि डा. डीलालाई दिए । त्यो डा. डीलाको लागि चुनौति र अवसर दुवै थियो ।
एक अध्यक्षसहित ४५ सदस्यीय कमिटीको नेतृत्व उनको काँधमा आएको थियो । विभिन्न गुटबाट प्रतिनिधित्व गरेका सदस्यहरुको मन जिती महिला संघलाई हाँक्न ज्यादै कठिन अवस्था पनि थियो । कांग्रेसको गुटगत राजनीतिलाई महिला संघमा प्रतिविम्वीत हुन डा. डीलाले कहिले पनि दिइनन् । संस्थागत प्रक्रियालाई उनले प्राथमिकता दिइन्, फलस्वरुप महिला संघमा कहिले पनि त्यति ठूलो विवाद उत्पन्न भएन । किनकि डीलाले कांग्रेसको गुटगत राजनीतिलाई कहिल्यै पनि प्रश्रय दिइनन् । जसको फलस्वरुप २०७० सालको दोस्रो संविधान सभाको आम निर्वाचन हुँदा पनि उनी सांसद बन्न सकिनन् । आफ्नै कमिटीका करिब १ दर्जन सदस्य सांसद बने, नेविसंघ÷तरुण दल लगायतका भ्रातृ संस्थाका अध्यक्षहरु पनि सांसद बन्न सफल भए तर डा. डीला किन बनिनन् ? सहजै अनुमान गर्न सकिन्छ कि डा. डीला कुनै पनि गुटको विश्वासीलो पात्र बन्न सकिनन्, उनी केवल कांग्रेसको मान्छे बन्दाको परिणाम हो भन्दछन् राजनीतिक विश्लेषकहरु ।
डा. डीलाले महिला संघको नेतृत्व सम्हाल्दा धापासीमा रहेको केन्द्रीय कार्यालयमा विगत लामो समयदेखि तालाबन्दी रहेको र महिला संघको अस्तित्वमा नै प्रश्नचिन्ह खडा भएको अवस्था थियो । स्थानीय नेतृत्व र नेपाली कांग्रेस क्षेत्रीय समितिसँग वार्ता गरी महिला संघका गतिविधिहरु क्रमशः बढाई देशभरि नै महिला संघको खास उच्च राख्न डा. डीला सफल भइन् । देशभरि नै महिला संघको गठन गरी संघलाई चलायमान बनाउनुको साथै भारत एवम् अन्य मुलुकमा समेत महिला संघको छवीलाई उच्च राख्न डीला सफल भइन् । मूलतः डा. डीलाले संगठन सुदृढीकरण र विस्तारमा ध्यान दिँदै १४ वटै अञ्चलमा विचार गोष्ठी, प्रशिक्षण, कार्यशाला गोष्ठी गरी महिला संघलाई सशक्त र प्रभावकारी बनाउन पुगिन् । महिला संघको विधानलाई समयसापेक्ष परिवर्तन गर्न लगाई सम्पूर्ण महिलाहरुलाई संगठनको दायरामा ल्याउन उनी सफल भइन् । राष्ट्रिय व्यक्तित्वहरुको स्मृति समारोह एवम् राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दिवसहरु बनाउनुको साथै संविधान सभामा महिलाका हकहरु सुरक्षित गर्न संघर्षका कार्यक्रमहरु गर्न पनि उनी पछि परिनन् । तत्कालीन सरकारको असंवैधानिक र प्रतिगामी कदमको विरुद्ध आवाज उठाउँदै मुलुकमा घटाइएका अनेकौं जघन्य काण्डहरुको पनि महिला संघको नेतृत्वमार्फत् भण्डाफोर गर्न पुगिन् । सरकार एवम् पार्टीमा रहेका नेतृत्व वर्गमा भेटघाट, शुभकामना आदानप्रदान गर्नुको साथै राष्ट्रिय सांस्कृतिक पर्वका कार्यक्रमहरुमा महिला संघमार्फत् सम्पूर्ण महिलाहरुलाई जोड्न पनि डा. डीला पछि परिनन् । महिला नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम लिएर देशैभरि महिला संघमार्फत् दौडाहा गरी कांग्रेसको छवी उच्च भएको कुरा आज पनि महिला संघका सामान्य कार्यकर्ता समेतले भन्ने गरेका छन् । महिला वर्गका अधिकारहरु सुरक्षित गर्न विभिन्न पार्टीका भगिनी संगठनहरुको संयुक्त बैठक बसी कार्यक्रमहरु मार्फत् सरकारलाई ध्यानाकर्षण गरेको कुरा पनि तत्कालीन समयमा जारी भएका विज्ञप्ति, ज्ञापनपत्रहरु मार्फत् सम्पूर्णमा अवगत नै छ । राष्ट्रपति विद्यादेवी भण्डारी तत्कालीन एमालेको भगिनी संगठन अनेमसंघ र डा. डीला नेपाल महिला संघसँग सँगै हातेमालो गरी महिलाका राष्ट्रिय मुद्दामा सहभागी भएको कुरा स्मरणीय छ ।
महाभूकम्प २०७२ मा महिला संघको नेतृत्व प्रदान गर्दै खेलेको भूमिका पनि त्यति नै अविस्मरणीय छ । अझ भन्ने हो भने नेपालको नयाँ संविधान २०७२ मा महिलाका हक अधिकारहरु संरक्षित गर्न चालिएका कदममा डा. डीलाको नाम कसैले पनि भुल्न सक्दैन । महिला संघबाट ब्रुसर, जर्नल, पुस्तक, बुकलेट र वेवसाइट समेतको प्रकाशन र स्थापना गरी ने.म. संघको क्रियाकलाप र गतिविधिहरुलाई लिपिवद्ध गरी ऐतिहासिक दस्तावेजको रुपमा आउने पिडीहरुलाई समेत मार्गनिर्देशित गर्ने कार्य डा. डीलाको नेतृत्वकालमा नै महिला संघले गर्न पुगेको हो ।
नेपाल महिला संघका गतिविधिहरु २०६९–०७३, शक्ति जर्नल, मंगला माँ, चेतना, सहयोगी प्रशिक्षण पुस्तिका, नारी संघर्षका पाइलाहरु, नेपाल महिला संघ तेस्रो राष्ट्रिय महाधिवेशन २०७३ स्मारिका आदि प्रकाशित पुस्तकहरुले साँच्ची नै महिला संघमा डा. को नेतृत्व रहेछ भन्ने प्रमाणित गर्दछ । सबैभन्दा गौरवको कुरा के हो भने महिला संघको प्राङ्गणमा महिला संघकी संस्थापक अध्यक्ष श्रद्धेय मंगलादेवी सिंहको सालिक स्थापना गरी इतिहासमै कहिल्यै नभुल्ने छाप डा. डीलाले महिलासंघको नेतृत्वबाट छोडेर गएकी छन् । केन्द्रीय तदर्थ समितिका सम्पूर्ण साथीहरुलाई एकसूत्रमा बााधी काम गर्दा नै महिला संघको छवी तत्कालीन अवस्थामा प्रभावकारी बन्न गएको हो । आज पनि त्यही संघमा रहेका अधिकांश साथीहरु स्थानीय, प्रदेश र संघीय संसदमा नेतृत्वदायी कार्य गरिनै रहेका छन् ।
यसरी २०६८ सालमा नेपाल महिला संघको केन्द्रीय अध्यक्षको नेतृत्वमा आई अनवरत रुपमा महिला संघलाई चुस्त र दुरुस्त बनाउँदै, साधारण र क्रियाशील सदस्यको व्यापक संख्यामा वितरण गरी गाउँ÷नगर, क्षेत्र, जिल्ला हुँदै तेस्रो राष्ट्रिय महाधिवेशन २०७३ भव्यताका साथ सम्पन्न गरी नयाँ नेतृत्व हस्तान्तरण गर्न सफल भएकी डा. डीला संग्रौला (पन्त) लाई देश विदेशका सम्पूर्ण प्रजातन्त्रप्रेमीहरुले बौद्धिक, जुझारु र क्रियाशील नेताको रुपमा स्मरण गर्दछन् ।
यसै नेतृत्वको कारणले डा. डीलालाई देश विदेशमा परिचित गराई केन्द्रीय नेतृत्वमा स्थापित गर्न सहयोग पु¥यायो । यद्यपि डा. डीला संग्रौला राष्ट्रव्यापी पहिचान नभएकै कारणले २०६७ सालको नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनमा केन्द्रीय सदस्यको पदमा अत्यन्त झिनो मतले पराजित भएकी थिइन् भने २०७२ सालमा सम्पन्न भएको ने.का.को तेह्रौं महाधिवेशनमा महिला मध्ये सबभन्दा बढी मत ल्याई विजयी हुनुले कांग्रेसको संगठनमा डा. डिलाको भूमिका सक्रिय भएको योगदानको परिणाम नै हो भन्न सकिन्छ ।
यसरी डा. डीलाले डेढ वर्षकी कान्छी छोरी सुष्मिता (जसको विवाह समेत विराटनगरकै कार्की परिवारका प्रतिकसँग हुन पुग्यो) लाई आमाको न्यानो काखबाट छुटाई विराटनगरबाट सक्रिय राजनीतिमा निस्किएको २७ वर्षको अवधि पश्चात् महिला संघको केन्द्रीय अध्यक्ष र ने.का. पार्टीको केन्द्रीय सदस्यमा स्थापित हुन पुगेकी हुन् । महिला संघकै कार्यकालमा रहँदा जनसम्पर्क समिति अष्ट्रेलियामा भएको एक कार्यक्रममा सहभागी हुन जाँदा डा. डीला जस्तो महिला नेतृ चौधौं महाधिवेशनमा पार्टीको नीतिगत निर्णय गर्ने पदमा पुग्ने कुरा भाषणको दौरानमा बौद्धिक व्यक्तित्व एवम् चिन्तिक प्रदिप गिरीले उल्लेख गरेको ताजा स्मृतिमा रही नै रहेको छ ।
यी सबै कार्यमा डा. डीलाको पछाडि उनका श्रीमान् एउटा सामान्य कार्यकर्ता जस्तो भई पछि–पछि लाग्दै दिलोज्यानले सहयोग गरेको कुरा हाम्रो जस्तो पुरुषप्रधान समाजमा एक उदाहरणीय र स्मरणीय कार्य बन्न गएको छ । यतिसम्म कि उनका जीवनसाथी प्रा.डा सूर्यप्रसाद २०६१ सालमै पीच.डी. उपाधी प्राप्त गरेका थिए तर राष्ट्रपतिबाट प्रदान गरिने नेपाल विद्याभूषण पदक नलिई बस्नु र डा. डीलाले २०६८ सालमा विद्यावारिधिको डिग्री प्राप्त गरेपछि २०७० मा सँगसँगै उक्त पदक लिनुले आफ्नो भन्दा श्रीमतीको प्रगतिमा रमाउने श्रीमान् भएको प्रमाणित गर्दछ । जबसम्म घरबाट महिलालाई साथ दिई पुरषले सहयोग गर्दैनन् तबसम्म महिलाहरु गन्तव्यमा पुग्न सक्दैनन् भन्ने उदाहरण डा. डीलाको परिवारले नेपाली समाजमा प्रस्तुत गर्न सफल भएको छ ।
२०७३ साल भाद्र २९–३१ गतेसम्म भएको ने.म. संघको तेस्रो राष्ट्रिय महाधिवेशन अत्यन्तै सफलताका साथ सम्पन्न गरी निवर्तमान भएकी डा. डीला संग्रौलाको देश दौडाहा गर्ने कामले भने विश्राम लिएन । पार्टी संगठनको कार्यदेखि महिला हक अधिकारको संरक्षण सम्बन्धी जनचेतना फैलाउनुको साथै महिला माथि भएका हिंसा, हत्या, बलात्कार जस्ता घटनाहरुलाई उजागर गर्दै डा. डीलाले ७५ वटै जिल्लाहरुमा आफ्नो अभियान अनवरत रुपमा जारी नै राख्न सफल भइन् ।
२०६४ र २०७० को संविधान सभाको निर्वाचनमा डा. डीलालाई संविधान लेख्ने अवसर पार्टीले प्रदान गर्न असमर्थ भएको थियो । २०७२ मा सम्पन्न भएको ने.का.को तेह्रौं महाधिवेशनले डा. डीलालाई केन्द्रीय सदस्यमा स्थापित गरेपछि २०७४ को संघीय आम निर्वाचनमा सांसद बन्न बाटो खुल्न पुग्यो । २ पल्टसम्म पार्टीले डा. डीलालाई अन्याय गरेकोले र अर्कोतर्फ निर्वाचन आयोगको नियमानुसार पार्टीले बुझाएको समानुपातिक प्राथमिकता लिस्टलाई परिवर्तन गर्न नमिल्ने हुँदा यसपल्ट भने डा. डीलाको सांसदमा उपस्थिति हुने कुरामा कुनै शंका रहेन नै ।
अब डा. डीलाको काँधमा २ वटा जिम्मेवारीहरु देखा परे । एकातर्फ पार्टीको केन्द्रीय सदस्यको हैसियतले पार्टीले सुम्पेको जिम्मेवारी र आफूले गर्नुपर्ने दायित्वको साथै अर्कोतर्फ सांसदको नाताले सदनमा खेल्नुपर्ने भूमिका र आम जनताको लागि गर्नुपर्ने सांसदको कर्तव्य । यी दुवै भूमिकाहरुलाई डा. डीलाले एकैसाथ बहन गर्दै आउनु भएको छ । २०७४ को निर्वाचनले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बसी जनताको सेवा गर्ने अवसर प्रदान गरेको हुँदा डा. डीलाले प्रतिनिधि सभाको बैठकमा सरकारले गरेका राम्रा कामहरुलाई समर्थन र जनताको अहितमा हुने कार्यलाई शून्य समय, विशेष समयको अलावा जरुरी सार्वजनिक महत्वको प्रस्ताव समेत पेश गरी सरकारलाई सचेत र सजग बनाउन पछि परेकी छैनन् ।
डा. डीला आम सञ्चार माध्यममार्फत् पनि सरकार र पार्टीका गतिविधिहरुलाई सधैं उजागर गर्दै आएकी छन् । सांसद भएपछि डा. डीला संग्रौलाले छिमेकी मुलुक चीन र इन्डोनेसियाको भ्रमण गरी दुई देश बीचको आपसी सम्बन्ध र विकासका मोडलहरुलाई बुझ्ने अवसर समेत पाइन् ।
संसदको राज्य व्यवस्था समितिमा रहेकी डा. डीला संग्रौलाले नागरिकता लगायत अनेकौं विधेयकहरुमा सक्रिय छलफलमा भाग लिई आफू र पार्टीको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रम एवम् बजेटहरुलाई डा. डीलाले नेपाली जनताको भावनालाई उजागर गर्दै सदनमा सम्मानका साथ उठाएकी छन् । कोभिड–१९ को महामारीबाट नेपाली जनताले व्यहोर्नु परेको सास्ती र सरकार त्यसमा असफल भएको बताउँदै कमिशन र भ्रष्टाचारमा सरकार चुर्लुम्म डुब्न पुगेको नेपाली जनताले महशुस गरेको भावनालाई डा. डीलाले लेख, रचना एवम् आम सञ्चारको माध्यमले सचेत गराउन समेत चुक्नुभएको छैन । प्राकृतिक प्रकोप एवम् कोरोना महामारीबाट थला परेको अर्थव्यवस्थालाई माथि उकास्न र सरकारको काम कारवाहीलाई नजिकबाट डा. डीलाले नियाल्दै आउनु भएको छ । पार्टीले डा. डीलालाई श्रम तथा रोजगार मन्त्रालयको छायाँ सरकारको मन्त्री बनाई जिम्मेवारी सुम्पिएपछि स्वदेशी एवम् विदेशी श्रमिकले भोग्दै आएको पिरमार्कालाई एवम् रोजगार श्रृजना गरी श्रमिकको हकहित सुरक्षित गर्न श्रम तथा रोजगार मन्त्रीलाई ध्यानाकर्षणपत्र सहित बारम्बार सचेत गराउँदै आएको कुरा विभिन्न सञ्चार माध्यममा प्रकाशित भई नै रहेको छ ।
महिलालाई सशक्तिकरण गर्दै पार्टी तथा राज्यको विभिन्न निकायको निर्णायक तहमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने भन्दै गोष्ठी, प्रशिक्षण, सेमिनार आदिमा डा. डीला अधिराज्यभरि नै सरिक हुँदै गएकी छन् । ने.म.संघकी संस्थापक अध्यक्ष मंगला माँ को नाममा रहेको “मंगलादेवी स्मृति प्रतिष्ठान”की संस्थापक अध्यक्ष समेत रहेकी डा. डीला संग्रौला (पन्त) प्रतिष्ठानको कार्यक्रममा पनि संलग्न छिन् ।
निर्मलाको न्यायको अभियान लिएर देशका दुर्गम तथा पहाडी जिल्लामा समेत डा. डीलाले महिला माथि भएको हत्या, हिंसा र बलात्कारका घटनाहरुलाई सरकारले रोक्न नसकेकोमा सरकारप्रति आक्रोश पोख्दै आम जनताको भावनालाई आफ्ना लेख रचना र आम सञ्चार माध्यममा प्रशारण गर्न पछि परेकी छैनन् । १ नम्बर प्रदेशको समृद्धि र विकासको लागि नेपाली कांग्रेसको भावी कार्यदिशा कार्यक्रम समेत लिई सो प्रदेशको सबै जिल्लाहरुमा अन्तरक्रिया गर्न पनि डा. डीला अग्रसर भएको देखिएको छ । कांग्रेसका साथीहरुमा त्यसले एक नयाँ उर्जा प्रदान गरी नेपाली कांग्रेसको गतिविधि अगाडि बढाउन सहयोग मिलेको छ ।
डा. डीलाले देशको समसामयिक एवम् समकालीन राजनीति, महिला र समानता, सामाजिक सुरक्षा र विकास, सुशासन एवम् संसद र संसदीय अभ्यास जस्ता विषयमा १२५ भन्दा बढी प्रकाशित रचनाहरुलाई संग्रहित गरी “नेपालका सपना अधुरै” भन्ने पुस्तक प्रकाशित गर्न सफल भएकी छन् ।
यस पुस्तकमा डा. डीलाले विभिन्न समयका पत्रपत्रिका एवम् अनलाइन खबरहरुमा प्रकाशित लेख रचनाहरुलाई संकलन गरी पाठक वर्गमा प्रस्तुत गरेकी छन् । राष्ट्रभित्र देखि बाहिरसम्मकै विभिन्न परिस्थितिहरु जसले डा. डीलालाई छोए, चिमोटे र यदाकदा झापट पनि हाने, त्यही स्पर्श, त्यही चिमोटाई र त्यही थप्पडका चोटले उत्पन्न भएका प्रतिक्रियाहरु सकेसम्म सार्वजनिक र सहज बनाएर सो पुस्तकमा प्रस्तुत गरिएको छ । जुनसुकै कुराको पनि समय आउँदा महत्व हुन्छ भन्ने कुरालाई महशुस गरी डा. डीलाले पनि विभिन्न परिस्थिति र समयसापेक्ष भएका घटनाहरुलाई एकीकृत गरी संग्रहको रुपमा भावी सन्ततीहरुका लागि फलदायी हुनेछ भन्ने विश्वास लिई संग्रहित पुस्तकको प्रकाशन गर्ने काम गरेकी हुन् ।
नेपाली कांग्रेस चौधौं महाधिवेशनको संघारमा उभिएको छ । पार्टीभित्र नेतृत्वको लागि होडबाजी चली नै रहेको छ । पार्टीको नयाँ विधानअनुसार गाउँ÷नगर, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनले अबको कांग्रेसको सही नेतृत्व छनौट गरी आउँदो आम निर्वाचनमा एक नम्बर पार्टीमा स्थापित गरी सरकारको नेतृत्व कांग्रेसको हातमा पार्न आम कांग्रेसमा रहेका नेता, कार्यकर्ता एवम् शुभेच्छुकहरु लागि नै रहेका छन् । यसै परिस्थितिलाई मध्यनजर गर्दै डा. डीलाले कांग्रेसको संक्षिप्त परिचय, सैद्धान्तिक स्पष्टता, कांग्रेसका उपलब्धीहरु, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको कांग्रेस, अमूल्य योगदानका अग्रजहरु, नेपाली कांग्रेस अबको बाटो र चौधौं महाधिवेशनका एजेण्डाहरु समेत राखी “कांग्रेस अबको बाटो” नामक पुस्तक लेख्न जमर्को गरेकी छन् । समाजमा एक किसिमको के सोच छ भने राजनीति गर्ने व्यक्तिले केवल भाषण र गफ मात्र गर्न जान्दछन् तर अध्ययन अध्यापन गर्न जान्दैनन् भन्ने कुरालाई चिर्नको लागि डा. डीलाले भोगेको, देखेका, अनुभव गरेका, नेपाली कांग्रेसमा काम गर्दागर्दै मूल्यांकनको कसीबाट पछाडि परेका, कांग्रेसभित्र भएका कमजोरीलाई सुधार्न र देश दौडाहामा जाँदा कांग्रेसका साथीहरुबाट प्राप्त सुझाव एवम् शुभेच्छुकहरुबाट अभिव्यक्त भएका सल्लाह समेतलाई ध्यानमा राखी कांग्रेसको चौधौं महाधिवेशनमा साथीहरुलाई दिन सकुँ भनी डा. डीलाले यो किताब लेखेकी हुन् ।
राजनीतिमा प्रवेश गरेपछि केन्द्रीय सदस्य, सांसदको भूमिका समेत लिइसकेकी डा. डीला संग्रौला महिलालाई निर्णायक तहमा पु¥याउन हामी सम्पूर्ण महिलाहरुले आउँदो चौधौं महाधिवेशनमा कम्बर कसेर लाग्नुपर्ने बताउँदछिन् । महिलाहरुको निर्णायक उपस्थितिले नै पार्टी एवम् सरकारलाई सफलिभूत बनाउन सहयोग पु¥याउँदछ भनी चौधौं महाधिवेशन महिलाको निर्णायक अधिवेशन बन्ने कुरामा उनी विश्वस्त छिन् ।
जय नेपाल ।