ओलीको बोली : आफैंलाई घेराबन्दी

प्रधानमन्त्री केपी ओली आफ्नै बोलीको कारणले जहिले पनि विवादै विवादको घेराबन्दीमा पर्छन् । यो उनको स्वभाव नै भैसक्यो । केही न केही नयाँ विषय उठान गर्ने र वास्तविक समस्यालाई विषयान्तर गर्न असान्दर्भिक अभिव्यक्ति दिने ।
राष्ट्रमा देखापरेका चुनौती र समस्यालाई समाधान गर्नतर्फ उनले खासै चासो देखाएनन् । केवल आफू राष्ट्रवादी भएको मात्र देखाउन कहिले कूटनीतिक मर्यादा विपरीत आफूले लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरेपछि भारतले प्रधानमन्त्री पदबाट हटाउन थाल्यो भनेर सार्वजनिक अभिव्यक्ति दिने गर्दछन् । कहिले आफैँ डाक्टर जस्तो बनेर कोरोना बारे बेसारे अभिव्यक्ति दिने गर्दछन् । कहिले दुई छिमेकी राष्ट्रबीच धार्मिक र सांस्कृतिक द्वन्द्व निम्तिने गरी रामायण महाकाव्यका नायक रामको जन्म नेपालमा नै भएको थियो, उनी नेपालकै राजकुमार थिए भन्न पुग्छन् ।
कहिले प्रमुख प्रतिपक्ष दललाई नन्दी भिरङ्गीको संज्ञा दिँदै अरिंगाल भएर जाइलाग्न आफ्ना कार्यकर्तालाई उर्दी दिन्छन् भने कहिले आफ्ना पार्टीका नेताहरुको मानमर्दन गर्न पुग्छन् । ओलीका यस्ता थुप्रै विवादित अभिव्यक्तिले देशभित्र र बाहिर तरंगित बनाएको छ ।
नेपाली जनता, प्रतिपक्ष दल र उनकै पार्टीका नेताहरु समेत उनको बोली र व्यवहारबाट आजित भैसकेका छन् । ओली सरकारको औचित्य समाप्त हुँदा पनि आफू राष्ट्रवादी भएको देखाउन आफ्नै भजनमण्डली कार्यकर्ता तयार गरेर देशभरि राजतन्त्रकै शैलीमा आफ्नो जय जय कार गर्न लगाइरहेका छन् । राष्ट्रवाद एउटा अमूर्त चीज होइन । यसबारे प्रसिद्ध मार्क ट्ठेनले छद्मभेषी राष्ट्रवादीलाई व्यङ्ग्य गर्दै भनेका थिए, ‘त्यो व्यक्ति जो सबैभन्दा चर्र्को चिच्याउँछ, तर केका लागि चिच्याएको छ भन्ने जान्दैन, ओली त्यस्तै राष्ट्रवादी देखिएका छन् ।
भारतले लगाएको आर्थिक नाकाबन्दीको घोर विरोध गरेर एक लोकप्रिय राष्ट्रवादी नेताका रुपमा छवि बनाएर निर्वाचनको नेतृत्व गरेको ओली सरकार आज आर्थिक विकास र सुशासनको क्षेत्रमा पूर्ण असफल भैसकेको छ । यस्तो परिवेशमा पुरानै राष्ट्रवादको कार्ड फ्याँकी आफ्नै औचित्य सावित गर्न खोज्दा त्यसको परिणाम उनले सोचेभन्दा उल्टो निस्केको छ । बरु उनकै पार्र्टी भित्रबाट दुवै पदबाट राजीनामा मागिएको छ भने पार्र्टी भित्रको आन्तरिक किचलो झांगिएको छ ।

दुई छिमेकी देश भारतसँगको सम्बन्ध चिसिएको छ । त्यसैले उनले न त आफ्नो अभिव्यक्तिको प्रमाण र पुष्टि दिन सके न त भारतसँग कूटनीतिक वार्ता गरी गुमेको भूमि फिर्ता ल्याउन नै सके । उनका भनाइले केवल राष्ट्रले कूटनीतिक क्षति मात्र व्यहोर्नु परेको छ । प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो बोलीमा लगाम लगाउन नसक्दा पदकै मर्यादामा पनि आँच आएको छ भने परराष्ट्र मन्त्रालयले त विज्ञाप्ति नै निकालेर उनको भनाइको व्याख्या र खण्डन गर्नुपर्ने स्थिति देखापरेको छ ।

उनको बोली माथि यदि नेकपाका नेताहरुले लगाम लगाउन सकेनन् भने अब जनताले उनलाई सबक सिकाउने बेला आइसकेको छ । कतिपयले उनले राम र अयोध्या नेपालमा पर्दछ भन्नु र भारतका प्रधानमन्त्री मोदीले बुद्ध जन्मस्थल भारतमा पर्छ भन्नु एउटै हो भनेर तुलना गरेको पनि पाइन्छ । तर, वास्तवमा यी दुवै अभिव्यक्ति नेपाल र नेपालीका लागि राष्ट्रघाती र कूटनीतिक मर्यादित विपरीत नै हुन् ।

राष्ट्रभित्र थुप्रै समस्याका चाङहरु छन् । प्रथमतः मुलुक आज कोरोनाको बढ्दो संक्रकणमा छ । राष्ट्रले मानविय, आर्थिक, सामाजिक रु स्वास्थ्यको संकट झेलिरहेको छ । तर, ओली सरकार भने अनियमितता र अपारदर्र्शीतामा नै डुबेको देखिन्छ । स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारले सरकार सर्वत्र आलोचित भैसकेको छ । १० अर्ब खर्चको विवरण सडक र सदन दुवैबाट मागीरहँदा सरकार भने संसदको अधिवेशन हठात् ढंगले बन्द गर्न पुगेको छ । भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने नीति ओली सरकारको देखाउने दाँत मात्र भएको छ । यस्तो समस्यालाई ढाकछोप गर्न जनताको ध्यान अन्त्यै मोडन प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको देखिन्छ । दोस्रो, राष्ट्रले ठूलो प्राकृतिक विपद् खेप्नुपरेको छ । पहाडमा पहिरो र तराई–मधेसमा बाढी र डुबानले असंख्य मात्रामा धनजनको क्षति भएको छ । निकै बेपत्ता र घाइते भएका छन् । पीडितले तत्काल राहत र उद्धार पाइरहेका छैनन् ।

कृषकहरुले रोपाइँको समयमा पनि मल पाइरहेका छैनन् । सलहको आतंक खेप्नुपरेको छ । यस्तो समस्याबाट ध्यान अन्त्यै मोड्न पनि ओलीले यस्तो विवादित अभिव्यक्ति दिने गरेका छन् । तेस्रो भारतले मिचेको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबारे भारतसँग कूटनीतिक वार्ता गर्ने वातावरणको सिर्जना गर्नुपर्ने थियो । तर नक्सा मात्र संविधान संशोधन गरेर नक्सामा मात्र भूमि नेपालको भएको छ । यथार्थमा भूमि फिर्ता लिनुभन्दा राष्ट्रवादीको कवच सधैँ पहिरी रहने तर भारतसँग वार्ता गर्न वातावरण नबनाउने नियत नै ओलीको देखिन्छ ।

नेपाल र भारतबीच सीमा विवाद लगायतका विषयमा थुप्रै समस्याहरु छन् । तिनलाई सल्टाएर आपसी सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने आजको आवश्यकता हो । नेताहरुबीचको सम्बन्ध हार्दिक हुनुपर्दछ, तर, कटुताले भरिपूर्ण होइन । त्यसैले ओलीका अभिव्यक्ति सीमा विवादबाट टाढा भाग्न दिएको देखिन्छ । ओलीले दिएका विवादित अभिव्यक्तिलाई विभिन्न दृष्टिकोणले हेरिनुपर्छ ।

राम अयोध्याको प्रसंग

भारतीय प्रधामन्त्री नरेन्द्र मोदी २०७५ वैशाख २८ गते नेपाल भ्रमणका लागि पटनाबाट सिधैँ जनकपुर उत्रिएका थिए भने काठमाडौँबाट प्रधानमन्त्री ओली जनकपुर पुगेर मोदीको भव्य स्वागत गरेका थिए । सम्बोधनको क्रममा दुवै देशका प्रधानमन्त्रीले राम–सीता जनकपुरको ऐतिहासिक महत्व दर्शाउँदै भारत र नेपालको सांस्कृतिक र धार्मिक सम्बन्धको मुक्तकण्ठले प्रशंसा गरेका थिए । मोदीले अयोध्यामैत्री बस शुरुआत गरे ।
रामायण सर्किटको घोषणा गरे । तर, अहिले दुई वर्षपछि भानु जयन्तीको अवसरमा भने प्रधानमन्त्री ओलीले राम र अयोध्याबारे अप्रमाणित अभिव्यक्ति दिँदै भारतको अयोध्याको अस्तित्व माथि नै प्रश्न उठाइ दिए । अयोध्या नेपालमा नै पर्दछ भन्ने उनको भनाइले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक सम्बन्धको पुरानो मान्यतालाई विवादित बनाइदिएको छ । उनको यो भनाइ चारैतिर आलोचना पनि भैरहेको छ ।

प्रधानमन्त्री पदबाट हटाउने प्रसंग

गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भारतले आफूलाई प्रधानमन्त्री पदबाट सत्ताच्युत गर्न लागेका र त्यसमा नेपालकै नेताहरु समेत संलग्नता रहेको बताएपछि उनी स्वयं अप्ठ्यारोमा पर्न पुगे । उनको यो अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमा एवं कूटनीतिक मर्यादाको समेत उपहास भयो । चारैतर्फ विवादित बन्न पुग्यो ।

‘सिंहमेव जयते’

संसदको रोस्टमबाट प्रधानमन्त्री ओलीले भारतीय नीति “सत्यमेव जयते हो की सिंहमेव जयते हो” भनेर प्रश्न गरेका थिए । यस्ता कुरा बोल्दा त्यसको संवेदनशीतला के हुन्छ ? के बोल्न हुन्छ के हुँदैन भन्ने कुराको हेक्का नराख्ने ओलीको भनाइले अवश्य नै भारतीयहरुलाई झस्कादियो । यस्तै भारतको कोरोना कडा हुने र अन्य देश नरम हुने भन्ने उनको भनाइले पनि यसमा अझ मलजल गरेको देखिन्छ ।

राष्ट्रपतिबारे हल्का टिप्पणी

संसदमा सांसदहरुले राष्ट्रपतिको महँगो गाडी र कारपेटको चर्चा गर्दै मितव्ययिताको कुरा गर्दा उल्टै सांसद्हरु माथि राष्ट्रपतिको बारेमा किन टिकाटिप्पणी गरेको हो भनेर खनिने, कहिले राष्ट्रपति माथि महाभियोग लगाउने तयारी भैरहेको छ भन्ने हल्का टिप्पणी गर्दा उनकै पार्र्टीका नेताबाट यसको खण्डन पनि हुन पुग्यो । यसरी संविधानको संरक्षकको रुपमा रहेको राष्ट्रपतिलाई कहिले राजनीतिक विवादमा तान्नु, कहिले अप्रासंगिक कुरा गरेर उनलाई जोड्नु दुवै कार्य पदीय मर्यादा एवं संविधानको भावना विपरीत छ ।

बेसारे आइडोलोजी

कोरोना संक्रमण बढिरहेका बेला ओलीले संसद्मा कोरोना अदुवा र बेसार पानीले निको हुन्छ । नेपालीको इम्युनिटी पावर धेरै छ भन्ने भनाइ पनि मजाकको विषय बन्यो । कतिले उनलाई डाक्टरको उपाधि दिए । मेडिकल डाक्टरले पनि रुचाएनन्।

प्रतिपक्षप्रति असहिष्णु

ओलीले कहिले पनि प्रतिपक्ष दलसँग मित्रवत व्यवहार, साझेदारी र समन्वय गर्न चाहेनन् । बरु उल्टै प्रतिपक्षलाई संसद्बाटै निम्छरो शब्द प्रयोग गर्दा सदन नै अवरोध गर्नुपर्ने स्थिति आयो । सभामुखले उक्त शब्द रेकर्डिङबाट हटाउन रुलिङ गर्नु प¥यो ।

स्वास्थ्यलाभ चाहिएन

ओलीले आफ्ना समकालीन आफ्नै पार्टीको नेताहरुलाई पनि मान मर्यादा गरेनन्, जस्तो उनी उपचारको लागि गत भदौमा सिंगापुर जाँदै गर्दा आफ्नै पार्र्टीका बरिष्ठ नेता माधवकुमार नेपालले शुभकामना दिँदा उनले लिएनन् । नेपालतर्फ फर्केर उल्टै तपाई मलाई मरोस् भनेर कामना गरिरहनुभएको छ भने ।

यस्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा माग्दा उनीसँग गरिएको सम्झौताको विपरीत प्रधानमन्त्री हुन अर्को निर्वाचन फर्खनुहोस् र पार्टी अध्यक्ष हुन महाधिवेशन पर्खनुहोस् । यस्ता भनाइले पनि नेताहरुसँग सम्बन्ध चिसिएको छ ।

सचिवालयमा हप्कीदप्की

चारैतर्फबाट ओली सरकारको आलोचना हुन थालेपछि उनले आफ्नै प्रेस सल्लाहकारलाई हप्काउँदै हटाए भने मन्त्रीहरुलाई पनि राम्रो काम गरेनन् भन्दै मन्त्रिमण्डलको पुनः गठन गरे । तर, आवश्यकता व्यक्तिको फेरबदलभन्दा ओलीको स्वभावमा सुधार गर्नुपर्ने थियो । जुन गर्न सकेनन् ।

विवादित अध्यादेशको बचाऊ

ओलीले राजनीतिक दल परित्याग एवं संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी भित्र र बाहिर आलोचनाको शिकार हुन पुगे । आफ्नै पार्टीको सविचालयको बैठकमा अध्यादेशको बारे टिकाटिप्पणी र विरोध हुन थालेपछि उनले आफ्नो दल फुटाउन होइन, मधेसवादी दललाई फुटाउन यो अध्यादेश ल्याइएको हो भन्ने अभिव्यक्तिले पनि उनको बोलीमा लगाम नभएको देखिन्छ ।
पत्रकारलाई गाली

पत्रकारहरुले प्रधानमन्त्री ओलीले गरेका गलत काम कारबाही बारे कलम चलाउँदा उनले जहिले पनि तिखो टिप्पणी गर्ने र मुटु नभएका पत्रकारहरु छन् भन्ने अभिव्यक्तिले पनि राज्यको चौथो अंगले गरेको टिका टिप्पणीबाट बच्न अर्को विवादित अभिव्यक्ति दिएको देखिन्छ । पत्रकारले आमालाई पनि तिमी भन्छ भन्दै प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट आलोचना गरेका थिए ।
(प्रकाशित मिति ः २०७७ साउन १ अनलाइन खबर डटकम )